काठमाडौं । नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय प्रतियोगिता ‘रोड टु यूएफसी सिजन–५’ मा प्रभावशाली जित निकाल्दै नेपालको खेल इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्।
चीनको मकाउस्थित ग्यालेक्सी एरिनामा भएको ब्यान्टमवेट क्वाटरफाइनलमा ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
यो जितसँगै यूएफसी सम्झौताबाट अब उनी केवल दुई जित टाढा पुगेका छन्। ‘रोड टु यूएफसी’ एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट खेलाडीलाई यूएफसीसम्म पुर्याउने प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिन्छ।
बझाङबाट संघर्षपूर्ण यात्रा सुरु गरेका रवीन्द्र नेपाली एमएमएको उदाउँदो अनुहारका रूपमा चिनिन्छन्। उनले यसअघि पनि ‘म्याट्रिक्स फाइट नाइट’ को उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाएका थिए।