राजस्थानको धमाकेदार जित, हैदराबाद ४७ रनले पराजित

5k Shares

काठमाडौं । सनराइजर्स हैदराबादलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायर–२ मा स्थान बनाएको छ । न्यु चण्डीगढमा बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थानले हैदराबादलाई ४७ रनले हराएको हो ।

राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय ९६ रनमै अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए । त्यस्तै नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २–२ तथा यश राज पुन्जाले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल तयार पारेको थियो ।

राजस्थानका लागि वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए। उनले १२ छक्का र ५ चौका प्रहार गरे। ध्रुव जुरेलले पनि २१ बलमा अर्धशतक प्रहार गर्दै टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याए ।

हैदराबादका बलर प्रफुल हिंगेले ३ विकेट लिए भने इशान मलिंगा, शिवांग कुमार र नितिश रेड्डीले १–१ विकेट लिए । यस जितसँगै राजस्थान रोयल्सले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ भने सनराइजर्स हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार