बजेट घोषणाको दिन भन्सार सेवा प्रभावित, यात्रु जाँचपास भने खुला

2.8k Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुने दिन १५ जेठ (शुक्रबार) सबै भन्सार कार्यालय बन्द रहने भएका छन्। भन्सार विभागले सर्कुलर जारी गर्दै सो दिन यात्रु जाँचपासबाहेक अन्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्न निर्देशन दिएको हो।

अर्थमन्त्रीले संघीय संसद्मा वार्षिक आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने भएकाले आर्थिक विधेयकमार्फत महसुल दर तथा कर संरचनामा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

विभागले १६ जेठदेखि जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ अनुसार भएका परिवर्तनहरू ‘आसिकुडा प्रणाली’मा अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्रै प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ।

त्यस्तै, १४ जेठसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्र जाँचपास गरिसक्न भनिएको छ। यदि बाँकी रहेका प्रज्ञापनपत्रमा नयाँ आर्थिक विधेयकअनुसार महसुल दर परिवर्तन भएमा परिवर्तित दरअनुसार शुल्क असुल गरेर मात्रै जाँचपास गर्नुपर्ने उल्लेख गरिएको छ।

विभागले पुरानो प्रज्ञापनपत्रमार्फत घोषणा गरिएका तर जाँचपास हुन बाँकी वस्तुमा पनि नयाँ दररेट लागू भएमा सोहीअनुसार महसुल असुल गर्न सबै भन्सार कार्यालयलाई निर्देशन दिएको छ।

सम्बन्धित समाचार