सुस्त निर्माणले मुग्लिन–पोखरा सडक आयोजना अलपत्रजस्तै, असारसम्म सम्पन्न हुने अनिश्चित

1.5k Shares

कास्की। पृथ्वीराजमार्गअन्तर्गत बहुप्रतिक्षित मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा समयमै सम्पन्न हुने सम्भावना कमजोर बनेको छ।

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.७१ किलोमिटर रहेको उक्त पश्चिम खण्ड पाँच वर्षअघि सुरु गरिएको भए पनि पटक–पटक म्याद थपिँदै आएको छ। पछिल्लो पटक म्याद थप गर्दै आगामी असार १५ गतेसम्म पुर्‍याइए पनि हालको प्रगतिअनुसार काम समयमै सकिनेमा अन्योल देखिएको छ।

आयोजनाका अनुसार निर्माण कार्य पेट्रोलियम पदार्थको आपूर्ति समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि र लगातारको वर्षाका कारण प्रभावित भएको छ। आवश्यक डिजेल पर्याप्त मात्रामा उपलब्ध नहुँदा कामको गति घटेको निर्माण पक्षको भनाइ छ।

योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म पश्चिम खण्डको भौतिक प्रगति करिब ७८ प्रतिशत पुगेको छ। उहाँका अनुसार पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७.२८ किलोमिटर सम्पन्न भइसकेको छ।

आयोजनाअन्तर्गत २०.५५ किलोमिटर चार लेन सडक र १८.१६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्नुपर्नेछ। इन्धन अभावका कारण दैनिक आवश्यक करिब ४ हजार लिटर डिजेलको सट्टा करिब १,५०० लिटर मात्र उपलब्ध हुँदा निर्माण कार्य प्रभावित भएको छ।

सूचना अधिकारी अनन्त बरालका अनुसार हाल कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट र ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम भइरहेको छ।

एशियाली विकास बैंकको लगानीमा सञ्चालित उक्त आयोजनाको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग करिब रु ७ अर्ब ४० करोडमा सम्झौता भएको हो। सम्झौता २०७८ जेठ २ मा भए पनि २०७८ भदौ १२ देखि मात्र निर्माण सुरु गरिएको थियो।

निर्माण ढिलाइले मुग्लिन–पोखरा सडक विस्तार अझै यात्रुहरूको प्रतीक्षामै सीमित हुने संकेत देखिएको छ।

सम्बन्धित समाचार