काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज हुने दोस्रो सेमिफाइनलमा नेपालले इरानको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
समूह चरणमा दुई जित र एक हारसहित सेमिफाइनल पुगेको नेपाल घरेलु समर्थकमाझ फाइनल प्रवेशको लक्ष्यसहित कोर्टमा उत्रिँदैछ। नेपालले माल्दिभ्स र किर्गिस्तानलाई पराजित गरेको थियो भने भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो।
इरान भने समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो। इरानले बंगलादेश, श्रीलंका र कजाखस्तानलाई हराउँदै अपराजित यात्रा कायम राखेको छ।
नेपाल र इरानबीच पछिल्लो संस्करणको सेमिफाइनलमा पनि भेट भएको थियो, जहाँ नेपालले इरानलाई सोझो सेटमा हराएर ऐतिहासिक रूपमा फाइनल प्रवेश गरेको थियो। यसपटक पनि नेपाली टोली त्यही नतिजा दोहोर्याउने लक्ष्यमा छ।