काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बागमती र गण्डकीका तराई क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य बदली कायम रहने अनुमान छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्नेछ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही तराई तथा पहाडी क्षेत्रमा हुरी चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।