महिला क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, चीन स्तब्ध

1.7k Shares

काठमाडौं । एसियाली खेलकुद छनोटअन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले उत्कृष्ट अर्धशतकीय इनिङ खेल्दै ५७ बलमा ६ चौकासहित ६३ रन जोडिन् । रुबी पोदार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रन बनाइन् ।

१२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा पाँच विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । चीनकी कप्तान जु मिजुले सर्वाधिक ३० रन बनाइन् भने वाङ हुइवाङले २१ रन थपिन् ।

नेपालका लागि रिया शर्माले दुई विकेट लिइन् । पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले समान एक–एक विकेट हात पारे ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमै दुई अंक जोडेको छ । यही समूहमा चीन र इन्डोनेसिया रहेका छन् । नेपालले अब बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार