काठमाडौं । नाफामा चलिरहेको अवस्थामा देखिएको नेपाल आयल निगम अहिले फेरि ठूलो घाटामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि निगमले १५ दिनमै करिब एक अर्ब २५ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ ।
भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिद मूल्य उल्लेख्य बढे पनि नेपालमा खुद्रा बिक्री मूल्य सोही अनुपातमा समायोजन नगरिएकाले घाटा बढेको निगमको भनाइ छ । डिजेल र खाना पकाउने ग्यासमा सबैभन्दा बढी नोक्सानी भइरहेको निगमले जनाएको छ ।
निगमका अनुसार डिजेलमा प्रतिलिटर ठूलो घाटा भइरहेको छ भने एलपी ग्यासमा पनि प्रति सिलिन्डर उच्च नोक्सानी व्यहोर्नुपरेको छ । पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा समेत घाटा देखिएको निगमले जनाएको छ ।
यसअघि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका बेला निगमले नाफा कमाएको थियो । तर पुरानो सञ्चित घाटा र ऋण देखाउँदै उपभोक्तामाथि मूल्य घटाउन नसकिएको तर्क गर्दै आएको थियो ।
निगमले अहिलेको जटिल अवस्थाबीच पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाइएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि मूल्य समायोजन गरिने निगमको भनाइ छ ।