काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी अस्पतालबाट प्रदान हुँदै आएका अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवाबाहेक निजी स्वास्थ्य संस्थाबाट दिइने सबै बीमा सेवा १६ जेठदेखि अर्को निर्णय नभएसम्म बन्द रहने जनाएको हो।
बोर्डको ११ जेठमा बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा पुगेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको जनाएको छ। यससँगै देशभर स्वास्थ्य बीमामा आबद्ध सयौँ निजी अस्पताल र मेडिकल कलेजबाट बिरामीले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि लगायत नियमित सेवा प्रभावित हुने भएका छन्। आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई हालसम्म करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। लामो समयदेखि सरकारले बीमावापतको रकम उपलब्ध नगराएको, दाबी भुक्तानी रोकिएको तथा प्रक्रियागत झन्झट बढेको भन्दै निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
सरकारबाट समयमै भुक्तानी नआएपछि निजी अस्पतालहरूले बीमा कार्यक्रममार्फत सेवा दिन कठिन भएको बताउँदै आएका थिए। केही सरकारी अस्पतालले समेत यसअघि नै स्वास्थ्य बीमाअन्तर्गतका सेवा बन्द गरिसकेका छन्।