काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीका लागि इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको अवसर खुलाएको छ। इजरायल सरकारले नेपाल–इजरायल श्रम सम्झौताअनुसार दुई हजार तीन सय नेपाली कामदार लैजान आवेदन आह्वान गरेको हो।
वैदेशिक रोजगार विभागका अनुसार कुल कोटामध्ये एक हजार ३८० महिला र ९२० पुरुष छनोट गरिनेछन्। आवेदन दिने उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्ने व्यवस्था गरिएको छ।
विभागले कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएम वा सीएमए अध्ययन गरेको अथवा केयरगिभिङ सम्बन्धी तालिम लिएको हुनुपर्ने मापदण्ड तोकेको छ। योग्य उम्मेदवारले विभागको अनलाइन पोर्टलमार्फत २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन्।
कामदारले मासिक करिब पाँच हजार ८८१ इजरायली मुद्रा तलब पाउने जनाइएको छ। यसबाहेक ओभरटाइम, बिदा तथा खानाको सुविधा पनि उपलब्ध गराइनेछ।
आवेदनका लागि राहदानी, पासपोर्ट आकारको फोटो, शैक्षिक योग्यता तथा तालिमसम्बन्धी प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ।