काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे हुने कार्यक्रममा इयू अन्तर्गतका २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञ सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुनेछ ।
छलफलका क्रममा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’बाट नेपाललाई हटाउने विषयमा समेत पहल गरिने बताइएको छ ।
यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए ।