फुटबलमा कडा नयाँ नियम : हाइड्रेसन ब्रेकदेखि काउन्टडाउनसम्म विश्वकपमा ठूलो सुधार

3k Shares

काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुन लागेको आगामी फिफा विश्वकप २०२६ अघि फुटबल खेलमा व्यापक र ऐतिहासिक परिवर्तन हुने भएको छ। अन्तर्राष्ट्रिय फुटबल बोर्ड (आईएफएबी) र फिफाले खेललाई अझ व्यवस्थित, छरितो र अनुशासित बनाउने उद्देश्यले नयाँ नियमहरू लागू गर्ने तयारी गरेका छन्।

यसअघि १९७० को विश्वकपमा पहेँलो र रातो कार्ड, २०१८ मा भिडियो असिस्टेन्ट रेफ्री (भार) र २०२२ को कतार विश्वकपमा अतिरिक्त समयलाई वास्तविक खेल समयअनुसार लम्ब्याउने अभ्यासजस्ता परिवर्तनहरू भएका थिए। अब भने झनै संरचनागत रूपमा खेलको शैली नै बदल्ने नियमहरू आउन लागेका छन्।

प्रत्येक खेलमा अनिवार्य हाइड्रेसन ब्रेक

नयाँ नियमअनुसार अब प्रत्येक हाफमा अनिवार्य रूपमा तीन मिनेटको ‘हाइड्रेसन ब्रेक’ हुनेछ। अत्यधिक गर्मी मात्र होइन, सबै मौसममा यो नियम लागू हुने बताइएको छ। फिफाका अनुसार यो निर्णय खेलाडीहरूको सुझावका आधारमा गरिएको हो।

कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’ प्रयोग

यसअघि गोल, पेनाल्टी र सिधै रातो कार्डका निर्णयमा मात्र सीमित रहेको भिडियो असिस्टेन्ट रेफ्री (भार) अब कर्नर र दोस्रो पहेँलो कार्डमा पनि प्रयोग गरिनेछ। गलत निर्णय भएमा तुरुन्त सच्याउन सकिने व्यवस्था भए पनि खेलको गति ढिलो नहुने दाबी गरिएको छ।

समय खेर फाल्ने प्रवृत्तिविरुद्ध कडा ‘काउन्टडाउन’ नियम

खेलमा ढिलाइ रोक्न गोल किक, थ्रो–इन र सब्स्टिच्युसनमा कडा समय सीमा तोकिएको छ।

  • गोल किक र थ्रो–इनमा ५ सेकेन्डको भिजुअल काउन्टडाउन देखाइनेछ। समयभित्र प्रक्रिया पूरा नभए थ्रो–इन विपक्षीलाई र गोल किक कर्नरमा परिणत हुनेछ।
  • सब्स्टिच्युसनमा मैदान छाड्ने खेलाडीले १० सेकेन्डभित्र बाहिरिनुपर्नेछ। ढिलाइ भए नयाँ खेलाडी तत्काल मैदान प्रवेश गर्न पाउने छैन।
  • चोटपटकपछि उपचार पाएका खेलाडीले कम्तीमा १ मिनेट मैदान बाहिर बस्नुपर्नेछ।

मुख छोपेमा सिधै रातो कार्ड

अब खेलाडीले विवाद वा संवादका क्रममा मुख छोपेमा सिधै रातो कार्ड देखाइनेछ। यस्तो व्यवहारलाई गलत संकेत वा आपत्तिजनक गतिविधिसँग जोडेर कडा कारबाही गर्ने तयारी गरिएको हो।

त्यसैगरी, रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्ने खेलाडी वा टोलीलाई पनि सिधै रातो कार्डको व्यवस्था गरिएको छ। विगतका केही विवादित घटनाहरूलाई आधार मानेर यस्तो कडाइ गरिएको फिफाले जनाएको छ।

फुटबलको नियममा ल्याइएका यी परिवर्तनहरूलाई आगामी विश्वकपलाई अझ आधुनिक, पारदर्शी र छरितो बनाउने प्रयासका रूपमा हेरिएको छ।

hq720.jpg

सम्बन्धित समाचार