पाँच सेटको रोमाञ्चक खेलमा नेपाल भारतसँग पराजित

1.9k Shares

काठमाडौं । राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग ३–२ सेटले पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो सेट जिते पनि अन्ततः पाँचौँ सेटमा पराजित हुन पुगेको हो ।

पहिलो सेट नेपालले २५–२० ले जितेको थियो । तर त्यसपछि भारतले दोस्रो र तेस्रो सेट क्रमशः २५–२० र २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा नेपालले पुनः उत्कृष्ट पुनरागमन गर्दै २५–२१ ले जित निकाल्यो ।

निर्णायक पाँचौँ सेटमा भने भारतले १५–९ ले जित हात पार्दै खेल आफ्नो पक्षमा पार्‍यो र नेपाललाई पराजित गर्‍यो । घरेलु दर्शकको ठूलो समर्थनबीच भएको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए ।

प्रतियोगितामा आठ राष्ट्र सहभागी छन् । नेपाल समूह ‘ए’ मा रहेको छ, जसमा भारतसँगै किर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा श्रीलंका, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । आजै सम्पन्न अर्को खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

सम्बन्धित समाचार