काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डेले होम ग्राउन्डमा उत्कृष्ट ब्याटिङ गर्दै फेरि एकपटक आफूलाई प्रमाणित गरेका छन्। काठमाडौँको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेट शृंखला अन्तर्गत आईसीसी विश्वकप लिग–२ को खेलमा उनले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि इशानले आत्मविश्वासपूर्ण ब्याटिङ गर्दै ८१ बलमा ८२ रन बनाएका छन्। यस क्रममा उनले आकर्षक शटहरू खेल्दै टोलीलाई मजबुत आधार दिएका छन्।
यसअघि स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका इशानले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गरेका हुन्। वानडे क्रिकेटमा हालै डेब्यु गरेका उनले अन्तर्राष्ट्रिय करिअरको सुरुवातमै प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।
नेपालका लागि तेस्रो खेल खेलिरहेका इशानलाई मैदानमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्। ताजा अवस्थामा नेपालले ४० ओभर खेल्दा ३ विकेटको क्षतिमा २१२ रन बनाइसकेको छ।