काठमाडौं । राजधानीमा शुक्रबारदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुने भएको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुनेछन् ।
पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले घरेलु दर्शकलाई निराश नबनाउने र उच्चस्तरीय प्रदर्शन गर्ने बताएकी छन् । उनले टोलीमा नयाँ र अनुभवी खेलाडीको संयोजन भएकाले यसपटक उपाधि जित्नेमा आशावादी रहेको पनि उल्लेख गरिन् ।

नेपालले प्रतियोगितामा पहिलो पटक कप्तान ठगुन्नाको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो रहेका छन् ।
मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । उद्घाटन खेल शुक्रबार दिउँसो नेपाल र भारतबीच हुने तय गरिएको छ ।