काठमाडौं । अन्तर्राष्ट्रिय उडानका क्रममा तातो कफीले पोलेर घाइते भएकी नेपाली महिलालाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रिति थापाको पक्षमा यस्तो फैसला सुनाएको हो ।
अदालतले पीडितलाई पुगेको शारीरिक र मानसिक क्षतिको गम्भीरतालाई आधार मान्दै अन्तर्राष्ट्रिय महासन्धि र नेपाली कानुनअनुसार छुट्टाछुट्टै क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ । उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार अदालतले मोन्ट्रियल कन्भेन्सनअनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको हो ।
यो घटना सन् २०२३ जुलाई १० मा भएको थियो । प्रिति थापा अमेरिकाको बोस्टनबाट काठमाडौं फर्किने क्रममा कतार एयरवेजको विमानमा यात्रा गरिरहेकी थिइन् । उडानका क्रममा विमानका कर्मचारीले दिएको अत्यधिक तातो कफी उनको पेट, तिघ्रा र संवेदनशील अङ्गमा पोखिएपछि उनी गम्भीर रूपमा घाइते भएकी थिइन् ।
विमान कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनलाई आकस्मिक उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनलाई ‘सेकेन्ड डिग्री बर्न’ भएको पुष्टि भएको थियो ।
पीडितले उपचार खर्च, शारीरिक पीडा र मानसिक क्षतिका आधारमा मुद्दा दायर गरेकी थिइन् । अदालतले विमान सेवाले यात्रुको सुरक्षामा पर्याप्त सावधानी अपनाउन नसकेको ठहर गर्दै क्षतिपूर्ति दिन आदेश दिएको हो । फैसलाको पूर्णपाठ आएपछि एयरवेजले ३० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको जनाइएको छ ।