प्राविधिक समस्या तत्काल समाधान गरिने : ऊर्जामन्त्री श्रेष्ठ

4k Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको प्रगति तीव्र बनाउन आग्रह गरेका हुन् । उनले कर्णालीजस्तो विकट क्षेत्रमा आयोजना द्रुतगतिमा अघि बढ्नु सकारात्मक भएको बताए ।

मन्त्री श्रेष्ठले आयोजनाबाट स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउनुका साथै देशको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । निर्माणका क्रममा देखिने प्राविधिक वा प्रशासनिक समस्या मन्त्रालयले तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाए । “निर्माणका क्रममा देखिने समस्या तुरुन्त जानकारी गराउनुस्, समाधान तत्काल खोजिनेछ । तर काममा ढिलासुस्ती हुनुहुँदैन,” मन्त्री श्रेष्ठले भने ।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडमार्फत डोल्पामा १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र १२४.३५ मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजना निर्माण भइरहेका छन् ।

कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौत को पनि सहभागिता रहेको थियो । सरकारले यी आयोजना सम्पन्न भएपछि डोल्पा क्षेत्रको भौतिक विकास र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा गरेको छ ।

 
 
सम्बन्धित समाचार