प्रधानमन्त्री अनुपस्थित भएपछि चर्कियो संसद तनाव

1.6k Shares

काठमाडौं । प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिपक्षी दलहरूले उनको खोजी गरेका थिए । त्यसपछि सभामुख अर्याल बैठक स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

स्रोतका अनुसार सभामुखले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर जवाफ दिन आग्रह गरेका थिए । हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहने भएकाले सदनमा आउन उनले अनुरोध गरेका थिए ।

तर प्रधानमन्त्री शाहले तत्काल संसद्मा आउन नसक्ने जवाफ दिएका बताइएको छ । उनले पछि उपयुक्त समयमा आउने भन्दै तत्काल उपस्थित हुन असमर्थता जनाएका थिए । त्यसपछि सभामुख अर्याल फर्किएर पुनः संसद् बैठक सञ्चालन गरेका थिए ।

यद्यपि विपक्षी दलहरूले भने प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी जारी राखेका छन् । श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले संसद्को वेल घेराउ गर्दै विरोध जनाएका हुन् ।

यसबीच सभामुखले प्रधानमन्त्रीको अनुपस्थितिमा कानुनमन्त्री सोबिता अर्याललाई एउटा प्रस्ताव अघि बढाउन अनुमति दिएका थिए । तर विपक्षी सांसदहरूको विरोध भने निरन्तर जारी रहेको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह संसद्बाट बाहिरिएका थिए । त्यसपछि उनी सदनमा नदेखिएको भन्दै विपक्षी दलहरूले आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको जवाफ दिन समेत उपस्थित नभएको भन्दै उनको आलोचना चुलिएको छ । विपक्षी दलहरूले संसद्को सम्मान नगरेको आरोप लगाएका छन्

सम्बन्धित समाचार