जनकपुर । धान, मत्स्य तथा वन क्षेत्रको उत्पादनमा कमी आएपछि चालु आर्थिक वर्षमा मधेस प्रदेशको आर्थिक वृद्धिदर कमजोर रहने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकमा यस्तो उल्लेख गरिएको हो ।
यस वर्ष पर्याप्त वर्षा नहुँदा धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको र त्यसकै असर आर्थिक वृद्धिदरमा देखिएको तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर यस वर्ष रहने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८०–८१ मा मधेस प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव १८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०८१–८२ मा यो घटेर दुई दशमलव ७२ प्रतिशतमा सीमित भएको थियो ।
कार्यालयका अनुसार लगातार दुई वर्षदेखि कृषि उत्पादनमा परेको नकारात्मक असरका कारण मधेसको आर्थिक वृद्धि दर निरन्तर खस्कँदै गएको छ । आर्थिक वर्ष २०८२–८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिको योगदान घट्दा मधेसको समग्र अर्थतन्त्र प्रभावित भएको बताए । उनले आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखिने जानकारी दिए ।