रुबी खानको अनशन अन्त्य, निर्मला कुर्मी प्रकरणमा अनुसन्धान अघि बढाउने सरकारी प्रतिबद्धता

1.7k Shares

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रुबी खान को आन्दोलन सरकारसँग ५ बुँदे सहमतिपछि टुंगिएको छ।

सरकारका प्रतिनिधिसँग मंगलबार सहमति भएपछि खानले २३ औँ दिनमा अनशन तोडेकी हुन्। उनलाई प्रधानमन्त्री वालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाएकी थिइन्।

नेपालगन्जस्थित अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारको विशेष टोली खटिएको थियो। टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दीपा दाहाल सहभागी थिए।

सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धान अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लैजाने सहमति भएको छ। साथै, खानले उठाएका अन्य घटनाको अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट गराइने र कमजोरी भेटिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कारबाही गरिने उल्लेख छ।

यस्तै, रुबी खानविरुद्ध बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दाको अनुसन्धान तत्काल टुंग्याउन निर्देशन दिने सहमति भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखसहित प्रहरी कर्मचारीको भूमिकामाथि पनि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने बताइएको छ।

महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेलाई आवश्यक निर्देशन दिने सहमतिसमेत भएको छ।

सम्बन्धित समाचार