काठमाडौँ । सरकारले आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्षको बजेट भाषण संघीय संसदको नयाँ भवनबाट गर्ने तयारी तीव्र बनाएको छ। सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद भवनको मुख्य सभाहल अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ।
हाल भवनको भौतिक संरचना लगभग सम्पन्न भइसकेको छ भने भित्री सजावट, साउन्ड सिस्टम, क्यामेरा, लाइटिङ, कुर्सी व्यवस्थापन तथा प्रविधि जडानका काम तीव्र गतिमा भइरहेका छन्। समयमै सबै प्राविधिक काम पूरा गरी बजेट भाषण नयाँ हलबाटै गर्ने लक्ष्य सरकारको रहेको छ।
नयाँ संसद भवन पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म संसद बैठकहरू अस्थायी सभाहलबाट सञ्चालन हुँदै आएका छन्। तर बजेट जस्तो महत्वपूर्ण कार्यक्रम नयाँ भवनबाटै गर्ने तयारीले संसद भवनको उपयोग सुरु हुने संकेत दिएको छ।
सरकारका अनुसार भवन निर्माणमा कुनै प्राविधिक कमजोरी नहोस् भनेर अन्तिम परीक्षण र निरीक्षणलाई प्राथमिकता दिइएको छ। सुरक्षा, सञ्चार तथा प्रत्यक्ष प्रसारणका सबै पक्षलाई समेत ध्यानमा राखेर व्यवस्थापन भइरहेको बताइएको छ।
नयाँ संसद भवन सञ्चालनमा आएपछि संसदीय गतिविधि अझ व्यवस्थित, आधुनिक र सुविधायुक्त हुने अपेक्षा गरिएको छ। यसले दीर्घकालीन रूपमा संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।