मणिपालको छात्रावासमा नर्सिङ विद्यार्थीको गुनासो : ‘साँघुरो कोठामा ८ जना, बस्नै सकस’

1.7k Shares

कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पताल मा अध्ययनरत बीएस्सी नर्सिङका विद्यार्थीहरूले छात्रावास र कक्षाकोठाको व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले साँघुरो, हावा नछिर्ने कोठामा ८ जनासम्म राखिएको भन्दै आफूहरूमाथि अमानवीय व्यवहार भएको गुनासो गरेका हुन्।

विद्यार्थीहरूका अनुसार दुई जना अट्ने कोठामा ८ जनासम्म बस्न बाध्य बनाइएको छ। कोठामा पर्याप्त झ्याल र भेन्टिलेसनसमेत नभएको उनीहरूको भनाइ छ। पटक–पटक गुनासो गरेपछि झ्यालमा जाली हालिएको भए पनि समस्या समाधान नभएको विद्यार्थीहरूले बताएका छन्।

एक विद्यार्थीका अनुसार कोठामा बस्नै मन नलाग्ने अवस्था छ। सास फेर्न कठिन हुने र रातिको समयमा छतमा गएर बस्नुपर्ने बाध्यता रहेको उनले बताइन्। फरक–फरक ड्युटी सिफ्टका कारण विद्यार्थीहरूको सुत्ने र उठ्ने समय नमिल्दा थप समस्या भइरहेको उनीहरूको भनाइ छ।

विद्यार्थीहरूले भर्नाअघि कलेजले छात्रावासको वास्तविक अवस्थाबारे कुनै जानकारी नदिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार भर्नापछि मात्रै धेरै विद्यार्थीलाई एउटै कोठामा राखिएको जानकारी भएको हो।

समस्या समाधानका लागि वैशाख १३ गते प्रिन्सिपललाई सामूहिक हस्ताक्षरसहित निवेदन दिइएको विद्यार्थीहरूले बताएका छन्। तर, सुनुवाइ नभएको उनीहरूको गुनासो छ। प्रिन्सिपलले अघिल्ला ब्याचका विद्यार्थी पनि त्यसैगरी बसेको भन्दै आफूहरूलाई ‘एडजस्ट’ गर्न भनिएको उनीहरूको आरोप छ।

विद्यार्थीहरूले खानाको शुल्कसमेत पूर्वजानकारीबिना बढाइएको बताएका छन्। सुरुमा ६ हजार ९० रुपैयाँ रहेको शुल्क तीन महिनामै बढाएर ७ हजार रुपैयाँभन्दा बढी बनाइएको उनीहरूको भनाइ छ। शुल्क बढे पनि खानाको गुणस्तरमा सुधार नभएको विद्यार्थीहरूले गुनासो गरेका छन्।

पढाइको वातावरण पनि कमजोर रहेको विद्यार्थीहरूको भनाइ छ। अस्पतालको बेसमेन्टमा कक्षाकोठा राखिएको र दिनभर ट्युबलाइटको भरमा पढ्नुपर्ने अवस्था रहेको उनीहरूले बताएका छन्। हावा नछिर्ने कक्षामा लामो समय बस्नुपर्दा स्वास्थ्यमा समेत असर परेको उनीहरूको दाबी छ।

नर्सिङ र एमबीबीएस अध्ययनरत विद्यार्थीबीच विभेद हुने गरेको आरोप पनि विद्यार्थीहरूले लगाएका छन्। आफूहरूको गुनासो बारम्बार बेवास्ता गरिएको भन्दै सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने माग उनीहरूको छ।

यस विषयमा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ले घटनालाई गम्भीर रूपमा लिएको बताएकी छन्। उनले तत्काल अनुगमन र छानबिनका लागि समिति गठन गरिने जानकारी दिइन्।

कास्की–२ का सांसद उत्तम प्रसाद पौडेल ले पनि शिक्षा तथा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अनुगमन टोली पठाउने बताएका छन्। विद्यार्थीलाई सम्झौताअनुसारको सुविधा उपलब्ध गराउनु कलेजको दायित्व भएको उनको भनाइ छ।

यता कलेजका अध्यक्ष नारायण पौडेल ले भने विद्यार्थीले तिरेको शुल्कअनुसार नै बसोबासको व्यवस्था गरिएको दाबी गरेका छन्। थप सुविधा आवश्यक भए अतिरिक्त शुल्क तिर्नुपर्ने उनले बताएका छन्।

भारतीय कम्पनीले सञ्चालन गर्दै आएको मणिपाल कलेज २०७८ सालदेखि पोखराका व्यवसायीहरूको समूहले सञ्चालन गर्दै आएको छ। सन् १९९८ देखि सञ्चालनमा रहेको कलेज भारतीय कम्पनीले लगानी असुरक्षित भएको भन्दै बीचमै छाडेको थियो।

 
 
सम्बन्धित समाचार