काठमाडौं । नेयमार अन्ततः ब्राजिलको विश्वकप टोलीमा परेका छन् । केही दिनअघिसम्म स्थानीय विश्लेषक र पूर्वफुटबलरहरूले उनको छनोट हुने सम्भावना कम रहेको बताएका थिए ।
३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीका लागि ७९ गोल गरिसकेका छन् । तर सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसीएल चोटपछि उनी पूर्ण फिटनेसमा फर्किन संघर्षरत छन् ।
प्रशिक्षक कार्लो एन्सेलोटी ले घोषणा गरेको २६ सदस्यीय टोलीमा भिनिसियस जुनियर र राफिन्हा पनि समावेश छन् । पछिल्ला वर्षहरूमा यी दुवै खेलाडी ब्राजिलका प्रमुख खेलाडीका रूपमा स्थापित भएका छन् ।
मे २०२५ मा ब्राजिल राष्ट्रिय फुटबल टोली को जिम्मेवारी सम्हालेका इटालियन प्रशिक्षक एन्सेलोटीले सोमबार टोली घोषणा गरेका हुन् । उनले हालै ब्राजिलियन फुटबल महासंघसँगको सम्झौता सन् २०३० को विश्वकपसम्मका लागि थप गरेका छन् ।
यद्यपि, एन्सेलोटीको सुरुआती कार्यकाल सहज भने देखिएको छैन । चोटका कारण केही महत्त्वपूर्ण खेलाडी टोलीबाहिर रहँदा ब्राजिल दबाबमा परेको छ । विशेषगरी फरवार्ड रोड्रिगो र एस्टेभाओ विलियमको अनुपस्थितिले उत्तर अमेरिकामा हुने विश्वकपमा टोलीलाई असर पार्न सक्ने अनुमान गरिएको छ ।
गोलरक्षक :
एलिसन, एडर्सन, वेभर्टन ।
डिफेन्डर :
एलेक्स सान्द्रो, डानिलो, लियो पेरेइरा, ब्रेमर, इबानेज, वेस्ली, मार्किन्होस, गाब्रिएल मागाल्हाएस, डगलस सान्तोस ।
मिडफिल्डर :
ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो, लुकास पाक्वेटा ।
फरवार्ड :
एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माथेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेन्रिके, नेयमार र रायान ।