लिस्बन । प्रशिक्षक रोबर्टो मार्टिनेज ले आगामी महिना सुरु हुने सन् २०२६ को विश्वकप फुटबलका लागि पोर्चुगल राष्ट्रिय फुटबल टोली को आधिकारिक टोली घोषणा गरेका छन् । अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि मंगलबार टोली सार्वजनिक गरिएको हो ।
पोर्चुगल समूह ‘जे’ मा डेमोक्रेटिक रिपब्लिक अफ कंगो, कोलम्बिया र उज्बेकिस्तानसँग परेको छ । बलियो दाबेदारमध्ये एक मानिएको पोर्चुगलबाट ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो ले आफ्नो छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने भएका छन् । यदि उनले टोलीलाई उपाधि दिलाउन सके सर्वकालीन महान् फुटबल खेलाडीको सूचीमा थप मजबुत रूपमा उभिने विश्लेषण गरिएको छ ।
मार्टिनेजले घोषणा गरेको टोलीमा रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, भिटिन्हा, जोआओ नेभेस, राफेल लियाओ र रुबेन डियास जस्ता स्टार खेलाडी समावेश छन् । यसले पोर्चुगललाई प्रतियोगिताको सबैभन्दा सन्तुलित र बलियो टोलीमध्ये एक बनाएको छ ।
यद्यपि, टोली घोषणासँगै केही चर्चित खेलाडी भने बाहिरिएका छन् । जोआओ पाल्हिन्हा, रोड्रिगो मोरा, रिकार्डो होर्ता र पेद्रो गोन्साल्भेस टोलीमा अटाउन सकेनन् । टोलीमा चार गोलकिपर राखिएका छन् । प्रशिक्षक मार्टिनेजका अनुसार रिकार्डो भेल्हो चौथो नम्बरका गोलकिपर हुन् । उनी खेलको अन्तिम सूचीमा नरहे पनि प्रशिक्षण सत्रमा टोलीसँगै रहनेछन् ।
मार्टिनेजले टोलीमा रहेको अतिरिक्त ‘+१’ स्थानलाई गत वर्ष दुर्घटनामा निधन भएका डिएगो जोटा प्रति श्रद्धाञ्जलीका रूपमा व्याख्या गरेका छन् । त्यसैले पोर्चुगलले २७ सदस्यीय टोली घोषणा गरेको हो ।
गोलरक्षक :
डिएगो कोस्टा, रुइ सिल्भा, जोसे सा, रिकार्डो भेल्हो ।
रक्षक :
जोआओ कान्सेलो, डिएगो डालोट, रुबेन डियास, गोन्सालो इनासियो, रेनाटो भेगा, थोमस आर्युजो, नुनो मेन्डेस, मानियस नुनेज र नेल्सन सेमेडो ।
मिडफिल्डर :
ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआओ नेभेस, भिटिन्हा, रुबेन नेभेस र सामु कोस्टा ।
फरवार्ड :
फ्रान्सिस्को ट्रिन्काओ, राफेल लियाओ, गोन्सालो रामोस, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, पेद्रो नेटो, फ्रान्सिस्को कन्सेइसाओ र गोन्सालो गुएडेस ।