३० वर्षको कुशासनको परिणाम हो ग्रे लिस्ट: स्वर्णिम वाग्ले

1.5k Shares

काठमाडौं । डा. स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले सबै उपाय अवलम्बन गर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आयोजित एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसीआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

एपीजीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सम्पूर्ण सामर्थ्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गराउने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन काम गरिरहेको उल्लेख गरे ।

उनले नेपाल ग्रे लिस्टमा पर्नु पछिल्ला ३० वर्षको कुशासनको परिणाम भएको टिप्पणी गर्दै नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा प्रभावकारी सुधारका काम भइरहेको दाबी गरे । जनताले दिएको जनमतको मुख्य सन्देश पनि सुशासन र पारदर्शिता नै भएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले ग्रे लिस्टबाट बाहिरिन आवश्यक पर्ने तत्कालीन तथा दीर्घकालीन पहलमा सरकारी निकायहरू सक्रियतापूर्वक लागिरहेको जानकारी दिए । नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रण, वित्तीय पारदर्शिता तथा नियामकीय सुधारका क्षेत्रमा प्रगति गरिरहेको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्नन ले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताए । उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

छलफलमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले २०८१ फागुन ९ गते नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । नेपालले उक्त सूचीबाट बाहिरिन १५ बुँदे आइसीआरजी कार्ययोजनाअनुसार सुधारका काम अघि बढाइरहेको जनाएको छ ।

सम्बन्धित समाचार