काठमाडौं । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ। छोटो समयमै संक्रमणका कारण झण्डै ९० जनाको मृत्यु भएपछि विश्वभर सतर्कता बढाइएको हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म इबोलाका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको आशंका गरिएको छ। डब्लूएचओले संक्रमण थप फैलिन सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्ला वर्षहरूमा रोजगार, भ्रमण र अन्य कारणले अफ्रिकी मुलुकसँग नेपालीहरूको आवतजावत बढेकाले नेपाल पनि जोखिमबाट पूर्ण रूपमा बाहिर नरहेको विज्ञहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार इबोला भाइरस पहिलो पटक असीको दशकतिर पुष्टि भएको थियो। त्यसयता कङ्गो, सुडान र युगान्डाजस्ता अफ्रिकी देशहरूमा बेलाबेला यसको प्रकोप देखिँदै आएको छ। अहिले कङ्गोमा फैलिएको संक्रमण युगान्डाको सीमासम्म पुगिसकेको उनले जानकारी दिए।
चमेरो र बाँदरजस्ता जनावरबाट मानिसमा सर्ने यो ‘जुनोटिक’ रोग हो। विगतमा इबोलाको मृत्युदर ९० प्रतिशतसम्म पुगेको उल्लेख गर्दै डा. पुनले हाल फैलिरहेको बुन्डिबुगियो प्रजातिको भाइरसको मृत्युदर करिब ४० प्रतिशत रहेको बताए।
उनका अनुसार यसअघि देखिएका जायर र सुडान प्रजातिका भाइरस अझ बढी घातक थिए। अहिले फैलिरहेको प्रजातिविरुद्ध भने हालसम्म कुनै प्रभावकारी खोप वा औषधि उपलब्ध छैन। किन यो प्रजाति यति तीव्र रूपमा फैलिरहेको छ भन्ने विषय अनुसन्धानकै क्रममा रहेको उनले बताए।
इबोला संक्रमित व्यक्तिको र्याल, पसिना, बान्ता, दिसा–पिसाब वा रगतजस्ता तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्छ। संक्रमितको स्राव लागेको वस्तु वा सतहसँग सम्पर्क हुँदा तथा काटिएको छाला, नाक, मुख वा आँखामार्फत भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
यसका प्रारम्भिक लक्षणहरू टाइफाइड, मलेरिया वा डेङ्गुसँग मिल्दाजुल्दा हुने भएकाले पहिचान गर्न कठिन हुने डा. पुनले बताए। एक्कासि उच्च ज्वरो आउनु, शरीर र मांसपेशी दुख्नु, वान्ता हुनु, कमजोरी महसुस हुनु, छालामा रातो बिमिरा देखिनु र रोग बढ्दै जाँदा आन्तरिक तथा बाह्य रक्तश्राव हुनु यसका प्रमुख लक्षण हुन्।
डा. पुनका अनुसार नेपालमा हाल इबोलाको जोखिम ‘न्यून’ स्तरमा छ। तर जोखिम शून्य भने नभएको उनको भनाइ छ।
उनले मङ्कीपक्सको उदाहरण दिँदै अफ्रिकामा सीमित रहेको रोग पछि युरोप हुँदै नेपालसम्म पुगेकाले इबोला पनि आयातित संक्रमणका रूपमा नेपाल आउन सक्ने बताए। त्यसैले समयमै पूर्वतयारी र सतर्कता आवश्यक रहेको उनको जोड छ।
विगतमा इबोला फैलिएका बेला नेपालका विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको स्मरण गर्दै उनले स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक त्राससमेत देखिएको बताए।
‘अफ्रिकाबाट आएका बिरामीलाई ज्वरो देखिँदा स्वास्थ्यकर्मी नै नजिक जान डराउने अवस्था थियो,’ उनले भने, ‘यसपटक सरकारले स्वास्थ्यकर्मीलाई पर्याप्त तालिम र आत्मविश्वास बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ।’
भारतमा संक्रमण देखिए नेपाल झन् बढी जोखिममा पर्न सक्ने उनको चेतावनी छ।
सरकारले विमानस्थलमा हेल्थ डेस्क सक्रिय बनाएको खबरलाई डा. पुनले सकारात्मक कदमका रूपमा लिएका छन्। प्रभावित देशबाट आउने यात्रुका लागि स्पष्ट मापदण्ड र जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उनले औंल्याए।
प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई ज्वरो वा शरीर दुख्ने समस्या देखिए तुरुन्तै ‘सेल्फ क्वारेन्टाइन’मा बस्न र स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ।
स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहने भएकाले अस्पतालहरूमा संक्रमण नियन्त्रणका उपाय कडाइका साथ पालना गर्नुपर्नेमा पनि विज्ञहरूले जोड दिएका छन्।