अमृत झा प्रकरणमा सरकारको त्रुटि, वास्तविकता बाहिरियो

3.1k Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइसम्बन्धी सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यसबारे क्षमायाचना समेत गरेका छन् ।

मन्त्री खनालका अनुसार इरानको क्वेशम द्वीप क्षेत्रमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका अमृत झा हाल पनि बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

उनले जनवरी २०२६ को सुरुआतमा अमेरिका–इजरायल र इरानबीच तनाव बढ्नुअघि नै अमृत झासहित अन्य ६ विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको सूचना दिएका थिए । सोही आधारमा मन्त्रालयले अनौपचारिक रूपमा रिहाइको जानकारी सार्वजनिक गरेको थियो ।

तर पछि प्राप्त विवरणअनुसार अमृत झा रिहा नभएको र अदालतले मुद्दामा ‘एक्स्पर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको खुलेपछि वास्तविक अवस्था परिवारलाई जानकारी गराइएको मन्त्री खनालले बताएका छन् ।

हाल इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र नेपाली पक्षले निष्पक्ष सुनुवाइ तथा कानुनी सहजीकरणका लागि कूटनीतिक पहल जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार