काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले स्कटल्यान्डलाई सहज रूपमा पराजित गरेको छ।
स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ७४ बल बाँकी छँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेले उत्कृष्ट अर्धशतकीय पारी खेले।
रोहितले ७४ रन बनाउँदा इशानले ५५ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २८ तथा आशिफ शेखले २९ रन बनाएर नेपालको सुरुवात बलियो बनाएका थिए।

लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुवात गरे पनि दुवै ओपनर छिट्टै आउट भएका थिए। त्यसपछि रोहित र इशानले इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्याएका हुन्।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। नेपाली बलरहरूले सुरुआती ओभरदेखि दबाब बनाए पनि स्कटल्यान्डले सम्मानजनक स्कोर खडा गरेको थियो।
घरेलु मैदानमा जारी सिरिजमा नेपालले लगातार दोस्रो प्रभावशाली प्रदर्शन गरेको हो। यसअघि अमेरिकाविरुद्ध जित निकालेको नेपालले स्कटल्यान्डमाथि पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्वकप छनोट यात्रालाई थप मजबुत बनाएको छ।