काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रनमा समेटिएको हो ।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ७३ रन बनाए । उनले ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए भने जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन जोडे ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले घातक बलिङ गरे । ललितले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले १० ओभरमा ४७ रन दिएर ३ विकेट हात पारे । नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिए ।
यस खेलमा सन्दीप लामिछानेले नयाँ विश्व कीर्तिमान पनि बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने बलर बन्दै अस्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् ।