संविधान अनुसार योग्यता नपुगेको दाबी गर्दै कँडेलविरुद्ध रिट

2.1k Shares

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अधिवक्ता माधवकुमार बस्नेत, दीपकराज जोशीलगायत चार जना तथा शिराज बरालले दायर गरेको रिट सोमबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसीमा परेको हो ।

यसअघि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । सरकारको लिखित जवाफ पेस भइसकेपछि अन्तरिम आदेशसम्बन्धी सुनुवाइका लागि पेसी तोकिएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नियुक्तिपछि उनको योग्यता संविधानअनुसार नपुगेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

रिट निवेदनमा संविधानको धारा १५७(३) र धारा १२९(५) अनुसार आवश्यक योग्यता नपुगेको उल्लेख गरिएको छ । निवेदकहरूले कँडेलको नियुक्ति र सपथ बदर गर्न माग गर्दै मुद्दाको अन्तिम टुंगो नलागुञ्जेल महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा डा. कँडेल लामो समय बेलायतमा बसेकाले १५ वर्ष निरन्तर वकालत गरेको अनुभव नपुगेको दाबी गरिएको छ । साथै, स्वार्थ–द्वन्द्वको अवस्था रहेको भन्दै उनलाई पदमा राख्दा संविधान उल्लंघन हुने जिकिरसमेत गरिएको छ ।

सम्बन्धित समाचार