काठमाडौं । गुनासो लिने मात्रै होइन, समाधान गर्ने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले सेवा प्रवाहलाई छिटो, उत्तरदायी र परिणाममुखी बनाउन नयाँ अभ्यास सुरु गरेको जनाएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेपछि ‘गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रीको निर्देशनपछि चौबिसै घण्टा सञ्चालनमा रहने हटलाइन सेवा अब केवल गुनासो टिप्ने माध्यममा सीमित नभई प्रत्यक्ष समस्या समाधान गर्ने संयन्त्रका रूपमा विकास गरिएको छ ।
सेवाग्राहीबाट फोन, ह्वाट्सएप, इमेल तथा ‘हेलो सरकार’मार्फत आएका गुनासोलाई सम्बन्धित निकायसँग समन्वय गरेर तुरुन्त समाधान गर्ने प्रणालीलाई प्रभावकारी बनाइएको मन्त्रालयको दाबी छ । मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन र स्वकीय सचिव राजा शाक्यसमेत जनसरोकारका विषयमा सक्रिय रूपमा समन्वयमा जुटिरहेका छन् ।
मन्त्रालयका अनुसार गत चैत १५ गतेयता हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । चैत १५ देखि चैत मसान्तसम्म फोनमार्फत चार हजार २४८, ह्वाट्सएपबाट १४, इमेलबाट दुई तथा हेलो सरकारमार्फत पाँच गुनासो दर्ता भएका थिए । वैशाख महिनाभर फोनबाट छ हजार २६, ह्वाट्सएपबाट ९२ र इमेलबाट १० उजुरी दर्ता भएका छन् ।
प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित रहेका छन् । विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, पोल ढल्ने, मिटर नपाउने, मिटर रिडिङ समस्या तथा इभी चार्जिङसम्बन्धी गुनासा बढी आएका छन् ।
मन्त्रालयले बाँकेको चिसापानी क्षेत्रमा ढलेका प्रसारण लाइनका टावर पुनर्निर्माण तथा स्याङ्जाको वालिङ र भिरकोट क्षेत्रमा चट्याङका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन सक्रिय भूमिका खेलेको जनाएको छ । काठमाडौँको स्वयम्भू क्षेत्रमा सडकबीचमा रहेका पोल स्थानान्तरणको समस्या पनि समन्वयमार्फत समाधान गरिएको मन्त्रालयको भनाइ छ ।
ऊर्जा मन्त्रालयले तत्काल सुनुवाइ, प्रत्यक्ष अनुगमन र छिटो समाधानको अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार आउने तथा सेवाग्राहीको भरोसा बढ्ने अपेक्षा गरेको छ ।