काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे बस्ने कार्यसूची रहेको छ ।
आजदेखि संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि ‘प्रि–बजेट’ छलफल सुरु हुने भएको छ । सरकारले बजेट ल्याउनुअघि सांसदहरूबाट सुझाव संकलन गर्ने संसदीय अभ्यासअनुसार छलफल गर्न लागिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सोहीअनुसार सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने तयारी गरिरहेको छ ।