लिग–२ मा नेपालको कठिन परीक्षा, आज स्कटल्याण्डसँग भिडन्त

3.6k Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच जारी त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भएका छन् । स्कटल्याण्डले आफ्ना दुवै खेल जितेको छ । उसले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस (डीएलएस) नियमका आधारमा २ रनले पराजित गरेको थियो भने अमेरिकालाई पनि डीएलएसकै आधारमा २ रनले हराएको थियो ।

यता नेपालले आफ्नो अघिल्लो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको छ । आजको खेलमा स्कटल्याण्डलाई हराउँदै नेपाल विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ ।

हाल लिग–२ को अंक तालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौं स्थानमा छ । नेपालले एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्नेछ भने ग्लोबल क्वालिफायर पुग्न बाँकी १० खेल जित्नुपर्ने दबाबमा छ । स्कटल्याण्ड भने ३० खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार