मौसम विभागको पूर्वानुमान : पहाडी क्षेत्रमा पानी, तराईमा बढ्दो गर्मी

1.2k Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ । मधेश प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाले कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ । यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित अन्य पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहने पूर्वानुमान गरिएको छ ।

सम्बन्धित समाचार