काठमाडौं । अफ्रिकी राष्ट्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ । संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केस फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संक्रमण फैलँदै गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । यद्यपि, यसलाई अझै महामारीको स्तरमा नराखिएको डब्लुएचओले स्पष्ट पारेको छ । कंगोका स्वास्थ्यमन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार संक्रमण पहिलो पटक एक नर्समा देखिएको अनुमान गरिएको छ । ती नर्सको अप्रिल २४ मा मृत्यु भएको थियो । त्यसपछि गरिएको परीक्षणमा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन् ।
संक्रमण अहिले बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ । स्थानीय बासिन्दाहरूले लगातार मानिसहरूको मृत्यु हुन थालेपछि समुदायमा भय र त्रास बढेको बताएका छन् ।
विशेषज्ञहरूले यसपटक देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनलाई थप चुनौतीपूर्ण मानेका छन् । हाल प्रयोग भइरहेका अधिकांश खोप र उपचार ‘जायरे’ स्ट्रेनलाई लक्षित गरेर बनाइएकाले नयाँ स्ट्रेन नियन्त्रणमा कठिनाइ हुन सक्ने उनीहरूको भनाइ छ ।
छिमेकी देशहरूमा पनि संक्रमण फैलिने जोखिम बढेको छ । युगान्डामा इबोलाको एउटा केस पुष्टि भइसकेको छ भने केन्याले आफ्नो सबै सीमा नाकामा स्वास्थ्य निगरानी कडा पारेको छ । अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा संक्रमण फैलिने उच्च जोखिम रहेको जनाएको छ ।
इबोला भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । संक्रमित व्यक्तिको रगत, वान्ता वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने यो रोग अत्यन्त घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाबाट संक्रमितमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको तथ्यांक छ ।