कीर्तिपुरमा आज निर्णायक खेल, नेपाल र अमेरिका आमनेसामने

3.2k Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । विश्वकप छनोटको सम्भावना जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी त्रिकोणात्मक शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन् । दुवै खेलमा स्कटल्यान्ड विजयी बनेको छ । पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले हराएको थियो । त्यसपछि अमेरिकाविरुद्धको खेलमा पनि स्कटल्यान्डले दुई रनकै रोमाञ्चक जित निकालेको थियो ।

हाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल कठिन अवस्थामा रहेको छ । नेपाल २५ खेलबाट आठ जित, १५ हार र दुई खेल अनिर्णित हुँदा १८ अङ्कसहित सातौँ स्थानमा छ । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले अब बाँकी ११ वटै खेल जित्नुपर्ने लगभग बाध्यात्मक अवस्था छ ।

यस्तै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि नेपाल शीर्ष ६ भित्र रहन आवश्यक छ । त्यसैले अमेरिकाविरुद्धको खेल नेपाली टोलीका लागि केवल अंकको लडाइँ मात्र नभई भविष्य निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ ।

अमेरिका भने उत्कृष्ट लयमा देखिएको टोली हो । उसले २५ खेलमध्ये १८ मा जित निकाल्दै ३६ अङ्कसहित तालिकाको दोस्रो स्थान ओगटेको छ । शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३० खेलबाट ३८ अङ्क जोडेको छ ।

घरेलु मैदान र समर्थकको साथ नेपालका लागि सकारात्मक पक्ष भए पनि लगातार दबाबपूर्ण अवस्थाले टोलीमाथि चुनौती थपिएको छ । ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन गर्न सके नेपालले महत्त्वपूर्ण दुई अंक जोड्न सक्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार