फिफा प्रतिबन्धको खतरा टर्‍यो, राखेपले एन्फा निलम्बन फुकुवा गर्‍यो

2.6k Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब दुई महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । चैत ११ गते ‘अर्ली इलेक्सन’ सम्बन्धी विवादका कारण राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । तर शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईबीच भएको छलफलपछि निलम्बन हटाउने निर्णय गरिएको हो ।

राखेपले यसअघि फिफा, एएफसी र एन्फासँग भर्चुअल छलफल गरे पनि निष्कर्ष ननिस्किएपछि प्रत्यक्ष बैठकको प्रस्ताव गरेको थियो । एन्फाले भने पहिले निलम्बन फुकुवा हुनुपर्ने अडान लिएपछि अन्ततः सरकार पछि हटेको हो । यस निर्णयसँगै नेपालमाथि फिफाले लगाउन सक्ने अन्तर्राष्ट्रिय प्रतिबन्धको खतरा पनि टरेको बताइएको छ ।

Anfa-Office.jpg

निलम्बनका कारण नेपाली फुटबलका धेरै गतिविधि प्रभावित भएका थिए । महिला टोलीले थाइल्यान्डमा भएको फिफा सिरिज गुमायो भने हङकङसँगको मैत्रीपूर्ण खेल पनि हुन सकेन । पुरुष तथा महिला लिगहरू समेत रोकिएका थिए । अब एन्फाले रोकिएका प्रतियोगिता सञ्चालन गर्ने र आगामी साफ च्याम्पियनसिपलाई प्राथमिकतामा राखेर योजना अघि बढाउने जनाएको छ ।

नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अब एन्फा नेतृत्व फुटबल विकास र दीर्घकालीन सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन् । उनले सत्ता संघर्षभन्दा व्यवस्थापन सुधार र खेलको विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

सम्बन्धित समाचार