नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति लिलामी प्रक्रिया प्रचलित कानुनअनुसार गरिएको दाबी गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई नियन्त्रणमा लिएको थियो । स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री तथा घरबहाल र विद्युत् महसुल भुक्तानीसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र सुरक्षित कारोबार ऐन २०६३ अनुसार कर्जा असुली प्रक्रियाअन्तर्गत लिलामी गरिएको स्पष्ट पारेको छ । बैंकका अनुसार गत असोजमा प्रकाशित सूचनाअनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामी गर्दा ४ अर्ब ६० करोड रुपैयाँ उठेको थियो । त्यसमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा चुक्ता गरिएको र बाँकी ३८ करोड रुपैयाँ बैंकको अर्नेस्ट मनी अक्सन खातामा रोक्का रहेको जनाएको छ ।
उक्त रकम घरबहाल, विद्युत् महसुललगायत स्मार्ट टेलिकमले तिर्न बाँकी दायित्व भुक्तानीका लागि राखिएको र सम्बन्धित निकायबाट प्रमाणसहित माग आएपछि क्रमशः भुक्तानी गरिने बैंकले जनाएको छ ।
अनुसन्धानका लागि आवश्यक सबै कागजात तथा विवरण सम्बन्धित निकायलाई उपलब्ध गराइएको र आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।