प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्तमाथि जेठ ४ देखि छलफल हुने

1.9k Shares

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने मिति तय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रस्तावमाथि जेठ ४, ५ र ६ गते छलफल हुने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिएका हुन् ।

बैठक रातिसम्म चलेको थियो । सभामुख अर्यालले दलीय प्रतिनिधित्वका आधारमा छलफलका लागि समय निर्धारण गरिएको बताएका छन् । छलफलमा सहभागी हुन चाहने सांसदहरूले जेठ ४ गतेको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि कार्यव्यवस्था परामर्श समितिमा नाम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सभामुख अर्यालले विनियोजन विधेयकसम्बन्धी छलफलको टिपोट राख्न अर्थ मन्त्रालय र संसद् सचिवालयका कर्मचारीलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

यसअघि कार्यसूचीमा रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव भने आजको बैठकबाट हटाइएको छ । उक्त प्रस्ताव समितिका सभापति गणेश पराजुलीले पेश गर्ने तयारी रहेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

सम्बन्धित समाचार