देशभर मौसम बद्लियो, धेरै प्रदेशमा वर्षाको सम्भावना
1.5k
Shares
काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै मुलुक नजिक बनेको न्यूनचापीय क्षेत्रका कारण मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली कायम छ ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक-दुई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । यी प्रदेशका केही स्थान तथा अन्य पहाडी भूभागका थोरै क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
त्यस्तै आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायम रहनेछ । बाँकी पहाडी तथा तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
मौसममा आएको परिवर्तनसँगै वर्षा, चट्याङ तथा हिमपातबाट हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।