चिनियाँ विद्युतीय सवारी निर्माता BYD ले ईभी क्षेत्रमा नयाँ प्रविधि सार्वजनिक गर्दै केवल ९ मिनेटमै गाडी पूर्ण चार्ज हुने ‘फ्ल्यास चार्जिङ’ प्रणाली सार्वजनिक गरेको छ । कम्पनीले यो प्रविधिलाई ईभी बजारको ‘गेम चेन्जर’का रूपमा प्रस्तुत गरेको छ ।
BYD ले सार्वजनिक गरेको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ र १५०० किलोवाट क्षमताको फ्ल्यास चार्जिङ प्रविधिमार्फत गाडीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट लाग्ने कम्पनीको दाबी छ । त्यस्तै १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन ९ मिनेट मात्र लाग्ने बताइएको छ ।
कम्पनीका अनुसार नयाँ प्रविधि १००० भोल्ट उच्च क्षमताको प्लेटफर्ममा आधारित छ । यसले “१ सेकेन्डमा २ किलोमिटर” बराबर ऊर्जा थप्न सक्ने दाबी गरिएको छ । BYD का अध्यक्ष वाङ चुआनफुले पेट्रोल गाडीमा इन्धन भर्ने समयजत्तिकै छोटो समयमा अब ईभी चार्ज गर्न सकिने बताएका छन् ।
नयाँ फ्ल्यास चार्जिङ प्रणालीले अत्यधिक चिसो मौसममा पनि प्रभावकारी रूपमा काम गर्ने कम्पनीको भनाइ छ । माइनस ३० डिग्री सेल्सियस तापक्रममा समेत गाडीलाई २० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न करिब १२ मिनेट मात्र लाग्ने बताइएको छ, जुन सामान्य अवस्थाभन्दा ३ मिनेट मात्र बढी हो ।
BYD ले चीनभर २० हजार फ्ल्यास चार्जिङ स्टेशन विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले युरोप तथा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत यो प्रविधि विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।
हाल यो प्रविधि BYD का प्रिमियम मोडलहरूमा प्रयोग सुरु गरिएको छ । कम्पनीले आगामी दिनमा आफ्ना लोकप्रिय ईभी मोडलहरूमा समेत फ्ल्यास चार्जिङ सुविधा विस्तार गर्ने जनाएको छ ।