नेपाली कांग्रेसका सांसद रञ्जित कर्ण ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाव’ मा लेखिएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभामा बोल्दै उनले सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वर्तमान अवस्थामा पूरा हुन नसक्ने दाबी गरे।
कर्णका अनुसार उक्त लक्ष्य हासिल गर्न जीडीपीको कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्ने भए पनि अहिलेको अवस्थामा त्यो सम्भव छैन। उनले सरकारले ठूलो लक्ष्य त राख्ने तर विकास खर्च प्रभावकारी रूपमा गर्न नसकेको आरोप पनि लगाए।
सांसद कर्णले प्रत्येक तीन महिनामा क्षेत्रगत उत्पादन र खर्चको विवरण संसदमा पेश गर्नुपर्ने सुझाव दिँदै पारदर्शिता र जवाफदेहितामा जोड दिए। साथै, सहकारी संकट समाधानका लागि सरकारले ल्याएको योजना दीर्घकालमा घातक हुन सक्ने चेतावनी समेत दिएका छन्।