काठमाडौं । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग औपचारिक रूपमा खुला गरिएको छ । सगरमाथा आधार शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने काम सम्पन्न भएसँगै आरोहीहरूलाई शिखरतर्फ अघि बढ्न सहज भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापन तथा डोरी टाँग्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई दिएको थियो ।
पर्यटन विभागका अनुसार बुधबार बिहान १० बजेर २५ मिनेटमा सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सम्पन्न गरिएको हो । विभागले उक्त कार्यमा संलग्न पथप्रदर्शक तथा आइसफल डाक्टरहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेको छ ।
विभागका अनुसार आधार शिविरदेखि क्याम्प-२ सम्मको क्षेत्रमा आठ जना आइसफल डाक्टर खटिएका थिए । त्यसैगरी क्याम्प-२ देखि चुचुरोसम्म ११ जना पथप्रदर्शकले डोरी टाँग्ने जिम्मेवारी पूरा गरेका हुन् ।
आरोहण मार्ग खुला भएसँगै अब विभिन्न देशबाट आएका आरोही टोलीहरूले सगरमाथा आरोहणलाई तीव्रता दिने अपेक्षा गरिएको छ । वसन्त ऋतु सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ ।