काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वलेन्द्र शाह स्वयं उपस्थित भएर जवाफ नदिने भएका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने कार्यसूची तय भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिइएको जनाइएको छ ।
प्रधानमन्त्री संसदमा प्रत्यक्ष उपस्थित भएर जवाफ नदिने निर्णयपछि प्रतिपक्षी दलहरूले आलोचना गरेका छन् । केही सांसदहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै आपत्ति जनाएका छन् । विपक्षी नेताहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय अभ्यासविपरीत भएको बताएका छन् ।
यसअघि पनि राष्ट्रपति संसदमा सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री सदनबाट बाहिरिएको विषयलाई लिएर संसदमा विवाद भएको थियो । त्यस घटनापछि सरकारमाथि संसदीय मर्यादा उल्लंघन गरेको आरोप लागिरहेको छ ।