काठमाडौं । सरकारले नेपालका विभिन्न अवकाश कोष तथा गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा सहभागी गराउने तयारी अघि बढाएको छ । यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउने काम भइरहेको जनाइएको छ । सरकारले पूँजी बजारको दायरा विस्तार गर्दै लगानीकर्ताको आधार फराकिलो बनाउने उद्देश्यले यस्तो तयारी थालेको हो ।
नयाँ व्यवस्थाअनुसार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थागत अवकाश कोषहरूले दोस्रो बजारमा लगानी गर्न पाउनेछन् । त्यसैगरी विदेशमा रहेका गैरआवासीय नेपालीलाई पनि नेपाली सेयर बजारमा खरिद–बिक्री गर्न दिने नीति अघि सारिएको छ। यसले बजारमा तरलता वृद्धि हुनुका साथै ठूलो मात्रामा वैदेशिक पूँजी भित्रिने अपेक्षा गरिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार एनआरएनलाई बजारमा प्रवेश गराउँदा आवश्यक नियामकीय संरचना, लगानी सुरक्षाको व्यवस्था, रकम फिर्ता लैजान पाउने प्रावधान तथा डिजिटल कारोबार प्रणालीलाई थप व्यवस्थित बनाइनेछ । पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न यस्तो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
विशेषज्ञहरूले एनआरएन तथा संस्थागत कोषको सहभागिताले बजार स्थिर र परिपक्व बन्ने बताएका छन् । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा व्यक्तिगत लगानीकर्ताको प्रभाव बढी रहेको अवस्थामा संस्थागत लगानी बढ्दा बजारमा दीर्घकालीन स्थायित्व आउने अपेक्षा गरिएको छ। साथै, बजारमा कारोबार रकम र लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान गरिएको छ ।