त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना टर्‍यो : टर्किस एयरलाइन्सको विमानमा आगो

1.5k Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएको छ। आगलागीपछि विमानस्थलमा केहीबेर आपत्कालीन अवस्था सिर्जना भएको थियो ।

आज बिहान करिब पौने ७ बजेतिर इस्तानबुलबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रातर्फ आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ । आगो देखिएलगत्तै विमानस्थलभित्र रहेका दमकल परिचालन गरी तत्काल नियन्त्रणमा लिइएको थियो ।

घटनापछि जहाजमा रहेका यात्रुहरूलाई इमर्जेन्सी ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो । विमानमा रहेका सबै यात्रु सकुशल रहेको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार आगो जहाजको ल्यान्डिङ गियर अर्थात् पाङ्ग्रा क्षेत्रमा देखिएको थियो। प्राविधिक टोलीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

यसअघि पनि गत फागुनमा काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा समस्या देखिएपछि उडान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । उक्त जहाजले एक इन्जिन बन्द गरेर आपत्कालीन अवस्थामै सुरक्षित अवतरण गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्ला वर्षहरूमा प्राविधिक समस्या, आकस्मिक अवतरण र रनवे सम्बन्धी घटनाहरू दोहोरिन थालेपछि विमानस्थल सुरक्षा र प्राविधिक निगरानीबारे पुनः प्रश्न उठ्न थालेको छ ।

 
सम्बन्धित समाचार