संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु

2.2k Shares

काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार राष्ट्रपति Ram Chandra Paudel ले आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिउँसो ३ः४५ बजेसम्म उपस्थित भइसक्न संसद् सचिवालयले आग्रह गरेको छ । यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक छुट्टाछुट्टै बस्ने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ । साथै प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गरिनेछ।

त्यसैगरी सरकारले जारी गरेका विभिन्न आठ वटा अध्यादेश पनि प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश गरिने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार