काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रका उद्योग, व्यापार र सेवा क्षेत्रलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सञ्चालन भइरहेको छ। गत बिहीबारदेखि सुरु भएको मेला सोमबारसम्म चल्ने आयोजकले जनाएको छ।
मेलामा सार्क राष्ट्रका कपडा तथा तयारी पोशाक, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायतका सामग्री प्रदर्शनमा राखिएका छन्। आयोजकका अनुसार व्यापार प्रवर्द्धन, बजारको सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।
मेलाका संयोजक सुमन महर्जनले देशभित्र लामो समयदेखि सुस्त बनेको व्यापारिक वातावरण र लगानी अनिश्चितताबीच यस्ता गतिविधिले निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार क्षेत्रीय व्यापार मेलाले व्यावसायिक गतिविधि बढाउने र नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
मेलाको सहआयोजनमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, नेपाल–चीन कार्यकारी परिषद्, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसनलगायत संस्था सहभागी छन्।