काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा नागरिकका आवश्यकता, अपेक्षा र विकासका प्राथमिकतालाई समेट्ने उद्देश्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको जनाएको छ ।
यस पोर्टलमार्फत नेपालभित्र तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, योजनाविद् तथा नीतिनिर्माताले बजेट र विकाससम्बन्धी आफ्ना राय तथा सुझाव सिधै सरकारसमक्ष पठाउन सक्ने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीतिनिर्माण प्रक्रियालाई सीमित प्रशासनिक घेराभित्र नराखी आमनागरिकको भावना, अनुभव र विज्ञतालाई समेट्ने उद्देश्यले यो पहल गरिएको हो ।
उनले नागरिक र राज्यबीचको दूरी कम गर्दै सुशासनको अभ्यासलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । प्राप्त सुझावलाई सम्बन्धित निकायले अध्ययन गरी नीतिगत रूपमा समावेश गर्न सकिने समेत उनले जानकारी दिइन् ।
पोर्टलमा सुझाव दिने नागरिकले आफ्नो सुझावको अवस्था र त्यसमा सरकारले गरेको कामको जानकारी ‘सुझाव ट्र्याक’ प्रणालीमार्फत हेर्न सक्ने सुविधा पनि राखिएको छ ।
सरकारले सबै नेपालीलाई सक्रिय रूपमा सहभागी भई समृद्ध नेपाल निर्माण अभियानमा रचनात्मक सुझाव दिन आग्रह गरेको छ । नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत पोर्टलमा प्रवेश गरी आफ्ना सुझाव प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन् ।