काठमाडौं । सर्वोच्च अदालतले शुक्रबारको दैनिक पेसी सूची करिब दुई घण्टा ढिला गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश डा. मनोजकुमार शर्मा कुनै पनि इजलासमा नदेखिएको उल्लेख गरिएको छ ।
सामान्यतया सर्वोच्च अदालतले बिहानै पेसी सूची सार्वजनिक गर्ने गरे पनि शुक्रबार भने सूची ढिला गरी प्रकाशित भएको हो । संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायालयभित्र र बाहिर बहस चलिरहेका बेला दुवै न्यायाधीश इजलासमा नराखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर कानुनी तथा राजनीतिक वृत्तमा विवाद चर्किरहेका बेला सर्वोच्चको पेसी व्यवस्थापनलाई समेत चासोका साथ हेरिएको छ । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरीयतामा चौथो स्थानमा रहेका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमै रिट दायर भइसकेको छ ।